जलेश्वर, कार्तिक ३०

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धन बीच मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र नेकपा एमाले–जनता समाजवादी पार्टी नेपाल गठबन्धनबाट जसपाका केन्द्रीय सदस्य डा. सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन् । भने स्वतन्त्र उम्मेदवार ६ जना रहेका छन् । चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपाललगायतका दलका उम्मेदवार पनि छन् ।
निवर्तमान सांसद डा. यादव र कांग्रेस केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ । क्षेत्रमा धेरैजसो डा. यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिदैँछ । यसअघि २०७४ मा डा. यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पारजित गरेको थियो ।

सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता रायको पक्षमा जुटेका छन् । त्यस्तै जसपा र एमालेका नेता कार्यकर्ता डा. यादवको पक्षमा जुटेका छन् ।

खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन् तीव्र बनाएका छन् ।

महोत्तरी–४ मा औरही नगरपालिकाको ६ वटा वडा, मनराशिवा नगरपालिकाका ७ वटा वडा, रामगोपालपुर नगरपालिकाका ९ वटा वडा, सम्सी गाउँपालिका र सोनमा गाउँपालिका गरी जम्मा ३७ वटा वडा छन् ।

महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपा नेपालका कौशलकुमार राय (यादव) र नेकपा (माओवादी केन्द्र)का लालेन्द्रकुमार मण्डल रहेका छन् । उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट संघीय समाजवादी पार्टीबाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवारी दिएका छन् । त्यस्तै नेता मण्डल वि.सं २०६४ को पहिलो संविधानसभा सदस्य रहेका थिए ।

त्यस्तै एमाले–जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (१) मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र (२) बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार छन् ।

प्रदेशसभा क्षेत्र (१) मा तीन महिलासहित २५ उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको संख्या १७ छन् । त्यस्तै प्रदेशसभा क्षेत्र (२) मा २० उम्मेदवार छन् । यहाँ एक मात्र महिला उम्मेदवार छिन् । स्वतन्त्र उम्मेदवारको संख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।