जनकपुर, कार्तिक ३०
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठवन्धनको मुलभावसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दलहरु वीच सहमती अनुसार उम्मेदवारहरुले उम्मेदवारी दिएपनि नेकपा माओवादी केन्द्रमा असन्तुष्टी चुलिएको छ ।
पाँच दलीय गठबन्धन उम्मेदवार विरुद्ध नै सर्लाहीमा अन्तसुष्ट रहेका नेता तथा कार्यकर्ताहले बागी उम्मेदवारी दिएपछि माओवादीका नेताहरु पनि विभाजित भएका छन् । गठबन्धनलाई बेवास्ता गर्दै अन्य उम्मेदवारहरुलाई सघाएको भन्दै माओवादीले लिखितरुपमा स्पष्टिकरण समेत माग गरेका छन् ।
सर्लाहीमा दलीय गठबन्धनको विरुद्धमा आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु लागेपछि आधा दर्जन भन्दा बढीलाई नेकपा माओवादी केन्द्र मधेश प्रदेशले लिखित स्पष्टिकरण पेस माग्दै अनुशासनको कारवाही गर्ने चेतावनी दिएका हुन् ।
बागमती नगरपालिकाका नगर प्रमुख समेत रहेका माओवादीका मधेश प्रदेश सदस्य भरत थापा, रमेश बुढाथोकी कमल, शिवपुजन यादव, जिल्ला सदस्य मोहन लाल श्रेष्ठ, रामनगर गाउँपालिका कमिटीका अध्यक्ष राजाबाबु यादव, हरिवन नगरपालिका कमिटीका अध्यक्ष ताराराज पन्तलगायतकालाई माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले लिखितरुपमै स्पष्टिकरण माग्दै अनुशासनको कारवाही गर्ने जनाएका छन् ।
गठबन्धन विरुद्ध खुलारुपमा स्वतन्त्र उम्मेदवारको पक्षमा मत माग्दै हिडेको र गठबन्धनको पक्षमा कुनै किसिमको गतिविधिमा संलग्न भएको नपाइएकोले २४ घण्टाभित्र चितबुझदो कारण सहित जवाफ दिन भन्दै अन्यथा अनुशासनको कारवाही गरिने ईन्चार्ज साहले बताए ।






