जनकपुर, मंसिर १
यही मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नै क्षेत्रमा जनप्रतिनिधिहरुले प्रचारप्रसार गर्न नपाउने निर्वाचन आचारसंहितालाई लत्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आफ्नै वडामा उम्मेदवारहरुको घरदैलोमा सहभागी भइरहँदा उपप्रमुख किशोरी साह पनि आचारसंहिताको पालना नै नगरि आफ्नै पालिकाभित्र आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा सहभागी भएका छन् ।
गठबन्धनले बिहीबार जनकपुरधामको पेठिया बजारमा आयोजना गरेको चुनावी सभामा उपमेयर साह उम्मेदवारसँगै मञ्चमा सहभागी भएको देखिएपछि स्थानीयवासीहरुले जनप्रतिनिधि बारे टिप्पणी समेत गरेका थिए ।
आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था रहेको छ ।
त्यसैगरी आचारसंहिता बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारी पनि आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन नपाउने आचारसंहितामा स्पष्ट रुपमा व्यवस्था गरिएको छ ।
यसअघि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष जितबहादुर राउत र कार्यपालिका सदस्य सञ्जुदेवी दास, कार्यपालिका सदस्य फुलकुमारी साह, वडा नम्बर–१० की वडा सदस्य नितु मल्लिकलगायतका पदाधिकारीहरू आफ्नै वडामा उम्मेदवारको घरदैलोमा सहभागी थिए ।
त्यस्तै, धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो, महोत्तरीको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्रकुमार यादवलगायतका जनप्रतिनिधिहरू आफ्नै पालिकाभित्र आ–आफ्नो दलबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूसँग घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेका थिए ।
धनुषाको नगराइन नगरपालिका मेयर विनय यादव, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, उपाध्यक्ष वन्दना पाण्डेय, नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सुरज नारायण साहलगायतका पदाधिकारीहरू पनि आ–आफ्नो पालिकाभित्र उम्मेदवारहरूसँगै घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमेत आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रबाहेकको क्षेत्रमा सभा सम्मेलन तथा घरदैलोमा सहभागी थिए ।
तर धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आचारसंहिता अनुसार स्थानीय तहका पदाधिकारीहरु कुनैपनि चुनावी सभामा सहभागी हुँदा दर्शकदिर्घामा बस्न पाउने बताए ।
उनले स्थानीय तहका पदाधिकारीहरु आफ्नै पालिकाभित्र आयोजना हुने चुनावी कार्यक्रममा मञ्चमै बस्नु आचारसंहिताविपरीतको गतिविधि रहेको समेत बताए ।
