जनकपुर, मंसिर २
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ ।
यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न बन्देज छ ।
निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्ताहरूलाई भनिसकेको छ ।
आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि गर्न मौन अवधिमा नपाइने भएकोले त्यस्ता सामग्री हटाउन भनेको छ ।
निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरिएको छ ।
मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम गर्न नपाउने आयोगले जनाएको छ ।
मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय तालिका आयोगले सार्वजनिक गरिसकेको छ ।
