काठमाण्डौ, मंसिर २

राजधानी काठमाण्डौ र ललितपुरको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

काठमाण्डौको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो ।

हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखिएको अवस्थामा आज बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनले भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको बताए ।

त्यसैगरी ललितपुरको ज्वालाखेलमा पनि शंकावस्तु फेला परेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा शंकास्पद वस्तु फेला परेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले जनाए अनुसार शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली गणेश चोक पुगेको छ ।

एकाविहानै पौने बजे ३ मा शंकास्पद वस्तु फेला परेको थियो । निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुन सक्ने अनुसन्धान अधिकृतहरूको भनाई छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाण्डौंले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।