जलेश्वर, मंसिर २
महोत्तरीमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमाले कार्यकर्ताले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । पीडित अनिल मण्डलले भने, ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे ।’
आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।
रामगोपालपुर नगरपालिकाका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयले बताए ।
एमालेका जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको जिकिर गरेका छन् ।
यता माओवादीले उक्ता घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको भन्दै उनले भत्र्सना गरेका हुन् ।
