काठमाण्डौ, मंसिर ३

अनलाइन मिडियाको दुरुपयोग गरी सत्ता गठबन्धनलाई लक्षित भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गरेका छन् ।

कांग्रेस–माओवादी पार्टीले संयूक्तरुपमा जारी गरेको विज्ञप्तिबाट नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार बनाएर तयार गरिएको हो ।

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’ सो कुरा विज्ञप्तिमा भनिएको छ ।

दुराशयपूर्ण सूरहदाँ पनि केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको दुई पार्टीले ठहर समेत गरेको छ ।

यस्ता सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ भने साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।