रौतहट, मंसिर ९

नेकपा एमालेको टिकेट बहिष्कार गरेर रौतहट– ३ बाट स्वतन्त्र निर्वाचन लडेका प्रभु साह भारी मतान्तरका साथ विजयी भएका छन् । उनी लगातार चौथो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रभु ३२ हजार ४ सय ३७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २ सय मत ल्याए । यी दुई बिचको मतान्तर ७ हजार २ सय ३७ मतको रहेको छ ।

एमालेले टिकेट दिए पनि जसपासंग चुनावी तालमेल गरेको भन्दै असन्तुष्ट भएर प्रभूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो जीत संगै प्रभु रौतहटबाटै लगातार चौथो पटक संसदसम्मको यात्रा तय गरेका छन् ।

यस अघि उनी २०६४ र २०७० सालको संविधानसभामा निर्वाचित भएका थिए भने २०७४ सालको आम निर्वाचनमा समेत उनले जीत निकालेका थिए ।