सर्लाही, मंसिर ९

नेपाली कांग्रेसको कारवाहीमा परेर निष्कासित भएका अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् । माछा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन ।

कांग्रेसले टिकट नदिनुका साथै कारवाही गरेर निकालिदिएपछी स्वतन्त्र उठेर एक्लै चुनावी अभियानमा होमिउका सिंहले अन्ततः नतिजा आफ्नो पक्षमा पारे । उनले पछिल्लो परिणामअनुसार १७ हजार ७६८ मत ल्याएका छन् । पराजित भएका नगेन्द्रकुमारले १६ हजार २८८ मत ल्याए ।

उनलाई कांग्रेस सर्लाहीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई कारवाही गरेको थियो । पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्धमा चिसोपना आएको थियो ।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरिएको बताएका थिए । सिंहलाई टिकटबाट बञ्चित गर्ने गरी कांग्रेसले उनलाई चुनावको मुखमा कारबाही गरेको थियो । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले अन्ततः एक्लै बाजी मारे ।