जनकपुर, मंसिर ९

धनुषा १ मा मतगणनाको क्रममा निर्वाचन अधिकृतले शंकास्पद काम गरेपछि मतगणना स्थगित भएको छ ।

मतगणना स्थलमा रहेका उम्मेदवारका प्रतिनिधिहरुले निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलसामु प्रश्न तेर्साएपछि उत्पन्न भएर मतगणना स्थगित भएको हो ।

धनुषाको क्षेत्र नम्बर १ को मतगणना धनुषाधाम स्थित भवनमा भईरहदाँ निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले दिपक कार्कीसँग मतगणना कम्प्यूटर ईन्ट्री गर्ने कक्षमा लामो समयसम्म बसेर षड्यन्त्र गरेको नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दिपक यादवले जानकारी दिए ।

अध्यक्ष यादवले सो कक्षको सिसि क्यामेरा फुटेज र मतगणनाको क्रममा ईन्टी गरिएको कामगजातसहित देखाउन माग गरेपछि मतगणना तत्काल स्थगित गरिएको बताए ।

सो क्रममा माओवादी र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता वीच भनाभन समेत भएको थियो । उग्र विवादको रुप लिएपछि प्रहरीसमेत परिचालन गरिएको छ । अहिले अवस्था सामान्य भएको बताइएको छ ।

यता माओवादी, जसपा, निर्वाचन अधिकृत खरेल र प्रहरी वीच छलफल भईरहेको छ ।

अध्यक्ष यादवले निर्वाचन अधिकृत खरेलले हाम्रो माग पूरा गरेमा तत्कालै मतगणना हुने समेत स्पष्ट पारे ।

यस क्षेत्रमा जसपा नेपालका उम्मेदवार दिपक कार्कीलाई १४०२१ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले १०७२६ मत प्राप्त गरेका छन् ।