जनकपुर, मंसिर १०

धनुषा क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणनाको क्रममा धाँधली गरेको भन्दै मुख्य निर्वाचन अधिकृत रहेका सरकारी वकिल धर्मअवतार कोइरालालाई कारबाही गर्न माँग गर्दै नेकपा एमालेले प्रदर्शन गरेको छ ।

एमालेबाट उम्मेदवार रहेका उमाशंकर अरगरियाको नेतृत्वमा शनिबार जनकपुरधामको जनकपुरधाम नगरको परिक्रमा गर्दै कारवाहीको माग गरेका हो ।

उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको आरोप लगाए ।

उनले, ‘५ मतले म अगाडी थिए । तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे । मविरुद्ध ठूलो षड्यन्त्र भयो ।

यसविरूद्ध म सडकसंगै कानुनी लडाई लड्छौँ ।’ ‘जनताको मतले म निर्वाचित भएको छु’, उम्मेदवार अरगरियाले भने, ‘कसैले कसैलाई सर्टिफिकेट दिँदैमा कोही सांसद हुन सक्दैन । जनताको सांसद म हुँ । निष्पक्ष तरिकाले पुनः मतगणना गर्न सरकार र निर्वाचन आयोगसँग माग गर्दछु ।’ भने ।

मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मत गणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाको जिकिर रहेको छ ।