जनकपुर, पुस २
बालबालिकामा मानसिक स्वास्थ्य समस्याबाट बचाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने एक तथ्यांकबाट देखिएको छ ।
मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) नेपाल मधेस प्रदेशका परियोजना संयोजक अनिरुद्ध मुखियाले सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा बालबालिकाको मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यभन्दा पृथक रुपमा देखिएको बताएका हुन् ।
बालबालिकामा भय, डर त्रास बढाउने सन्देश प्रवाह गर्न नहुनेमा उनको भनाई छ । उनले बालबालिकाको मानसिक स्वास्थ्यले समग्र राष्ट्रको स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकोले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महत्वपूर्ण हिस्साका रूपमा लिई उपयुक्त कार्यविधि, योजना, कार्यक्रम, नीति तथा कानून तयार गर्ने जिम्मेवारी सरकारको रहेको बताए । अभिभावकबाट पर्याप्त समय नपाएका बालबालिकामा मानसिक समस्या बढी देखिएको उनले स्पष्ट पारे ।
त्यस्तै कार्यक्रममा सीएमसी नेपालकी कार्यक्रम अधिकृत संगिता कर्णले बालबालिकाको मानसिक स्वास्थ्यलाई हेर्ने र व्यवहार गर्ने कुरामा स्पष्टता नहुँदा अनेकन समस्याहरू देखा परेको बताइन् । बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सरकारको स्पष्ट दृष्टिकोण नभएकाले यसलाई नियमन र व्यवस्थापन गर्ने विषयमा अन्योल रहेकोसमेत उनले सुनाइन् ।
सीएमसी नेपालले देशभरका ५४ जिल्लाका २५० स्थानीय तहहरूको सामुदायिक विद्यालयमा बाल मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
मधेस प्रदेशको सिरहा र धनुषा जिल्लाका तिनवटा पालिकामा उक्त कार्यक्रम सञ्चालनमा रहेको छ । सिरहाको लहान नगरपालिकाका २१ वटा, धनगढीमाई नगरपालिकाका २० वटा र धनुषाको धनौजी गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयहरूमा बाल मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको छ ।
