सर्लाही, पुस ३०
द्वन्द्वको कारण बन्द रहेको सर्लाहीका छोटी भन्सार कार्यालय अझैँसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करीमा व्यापक वृद्धि भएको छ ।
भारतसँग खुला सिमानाका जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय पनि छ । तर छोटी भन्सार कार्यालय भने बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको छ ।
छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेको छ । भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताए । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाका सात छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय भने मौन छ । भारतसँग खुला सिमाना जोडिएका सग्राममपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय र मलङ्गवामा जिल्ला भन्सार कार्यालय अहिलेसम्म बन्द छन् ।
छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रधुनाथ यादव बताउँछन् । व्यापारीले सामानको राजस्व भने तिर्ने गरेको छैन । पछिल्लो समय त्रिभुवननगर र बलरामा छोटी भन्सार कार्यालयमा कार्यालय सहयोगी राखेर छोटी भन्सार कार्यालय सञ्चालनमा छ ।
छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्वमा ह्रास आएको जिल्ला भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले जनाएका छन् ।
सीमानाका क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम नरहेको कार्यालय प्रमुख झाको भनाई छ ।
छोेटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
भारतसँगको खुला सिमानामा ११ स्थानमा सशस्त्र प्रहरी बलको पोष्ट रहेको छ भने २० ठाउँमा नेपाल प्रहरीका पोष्ट रहेको छ ।



