
काठमाण्डौ, माघ १
काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा दुर्घटना हुदाँ दर्जनौँको मृत्यू भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एक जना सवार रहेका थिए ।
विमानमा ४ जना चालक दलका सदस्य पनि थिए । प्राधिकारणले जनाए अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार रहेका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरेको छ । मृतक यात्रुको सम्बन्धमा जानकारी लिन ०१–४११३१६३ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । यति एयरलायन्सका आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ ।
यता हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि भएको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा भयो ।
यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो भने नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता मात्र नेपाली आकाशमा करिब ६० वटा विमान दुर्घटनामा परिसकेको जनाइएको छ ।