जनकपुर, माघ ४
मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको सपथ लिएपछि पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डललाई सपथ खुवाए भने र उपसभामुख राउतलाई सभामुख मण्डलले पद तथा गोपनियताको सपथ खुवाएका थिए । सपथ ग्रहणपछि सभामुख मण्डल र उपसभामुख राउत प्रदेशसभाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका थिए ।
सभामुखको पदभार ग्रहण गर्दै सभामुख मण्डलले प्रदेशसभा सञ्चालनमा समस्या रहेकाले व्यवस्थित सभाहल बनाउने निर्णय गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकबाट मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १०७ सदस्यीय प्रदेशसभामा १०३ जना उपस्थित रहेको थियो ।
सभामुख मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा नेपाल, माओवादी केन्द्र, जनमत, लोसपा नेपाल, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो ।
प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरु निर्वाचित छन् ।सभामुखमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत खसेको थियो ।

त्यस्तै जनमत पार्टीकी उम्मेदवार राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ जना प्रदेशसभा सदस्यको सहभागि भएको थियो ।


