जनकपुर, माघ ४

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पूर्ण विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री यादवलाई प्रदेशसभा भित्र उपस्थित रहेका १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री हुनु अघि उनीसँग ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । तर उनी नियुक्त भएको नवौं दिनमै उनले प्रदेशसभा भित्र उपस्थित रहेका सबै प्रदेशसदस्यको विश्वाससहितको मत प्राप्त गर्न सफल भए ।

सभामुख रामचन्द्र मण्डलले हाउसमा उपस्थित रहेको प्रदेशसभा सदस्यले दिएको मुख्यमन्त्री यादवको प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना प्रदेशसभा सदस्य भने अनुपस्थित थिए ।

मुख्यमन्त्री यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २७ मा प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको थियो ।

मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही नरहेपछि मुख्यमन्त्री यादव झनै शक्तिशाली भएको टिप्पणी हुन थालेको छ ।
मुख्यमन्त्री यादवलाई काँग्रेसको समर्थनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग मधेश प्रदेशका मुख्यमन्त्रीका लागि समर्थन मागेका थिए । भने मुख्यमन्त्री यादवले पनि काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसँग समर्थन दिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा चारजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ सांसद छन् ।