जनकपुर, माघ ६

सत्तारुढ जनमत पार्टीको साथमा रहेको भन्दै नेपाली काँग्रेस मधेश प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष डा. चन्द्रकान्त राउतले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहीदहरूको नाममा एक मिनेट धौरण गरेको समयमा अधिकांश प्रतिनिधिसभा सदस्य आ–आफ्नो स्थानबाट उठेपनि प्रधानमन्त्री प्रचण्ड नउठेको भन्दै नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले आपत्ति जनाएका हुन् ।

प्रदेश सभापति कृष्णप्रसाद यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मधेस वलिदानी दिवसका अवसरमा आन्दोलनका शहीदहरूको सम्मानका लागि प्रतिनिधिसभा सदस्य राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री प्रचण्डलगायतका कतिपय सांसदहरूले अवज्ञा गरेकोमा दुःख समेत व्यक्त गरेको छ ।

सभापति यादवले जारी गरेको सो विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।  मधेस आन्दोलनका शहीदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेशी जनताप्रतिको अपमान पनि हो । यो घटना मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो ।’