काठमाण्डौ, माघ ६
सरकारसँग असन्तुष्ट रहेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्ममा थप एक मन्त्रालय दिने आश्वासन दिएको छ ।
उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट बनेको छ ।
सुरुमा विना विभागीय मन्त्री रहेका सो जनमतका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेनन् ।
जनमतले थप एउटा मन्त्रालय दिएमात्र खानपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् । हिजो साँझ पनि जनमतका अध्यक्ष डा।सिके राउत र प्रधानमन्त्री प्रचण्डको बीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग गरेका छन् । सरकारमा ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको बीचमा कुराकानी भइरहेको र ती पार्टी सरकारमा सहभागी नभए थप एक मन्त्रालय दिने आश्वासन दिएको सो पार्टीका एक नेताले बताए ।
जनमतको पहिलो चाहना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै भएको भन्दै ती नेताले सो मन्त्रालय पाए अर्को मन्त्रालय नचाहिने पनि बताए । तर खानेपानी मन्त्रालय मात्र भयो भने एउटा थप मन्त्रालय चाहिने उनले स्पष्ट पारे ।
