काठमाण्डौ, माघ ७

जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरेको छ । सो कार्यदल वीच भएको बैठकबाट एक अर्काका दस्तावेज अध्ययन गर्ने निर्णय गरेको छ ।

एकता वार्ता समितिको बैठकबाट एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुबै पार्टी बीचका समानता र असमानता पहिल्याउनका लागि आगामी बैठकमा पेस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

दुवै दलको दस्तावेज अध्ययन गरेपछि तत्काल मिल्ने कुरालाई कार्यदलमै मिलाउने र नमिल्ने कुरालाई नेतृत्व तहमा पठाउने सहमति भएको उनले बताए । दस्तावेज अध्ययन गरेर मिल्ने र नमिल्न विषयवस्तुको सूचीकृत गरिनेछ । कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु समाधान गर्दै जाने वार्ता समितिको बैठकबाट निर्णय गरिएको बताइएको छ ।