विनाविभागीय मन्त्रीहरुले पाए जिम्मेवारी
जनकपुर, माघ १०
मधेश प्रदेशमा सत्तारुढ गठबन्धनको बैठकबाट आगामी तीनदिन भित्र विस्तार गरिने मन्त्रीपरिषद्मा लोसपा नेपाललाई सहभागी नगराउने निर्णय भएको छ ।
यससँगै तीन भित्रमा प्रदेश सरकारलाई पूर्णता दिने तथा मन्त्रालयको संख्या एवं राज्यमन्त्री समेत राख्ने निर्णय गरेको जनाइएको छ ।
मधेश प्रदेश सरकारलाई समर्थन गरेका लोकतान्त्रीक समाजवादी पार्टी नेपाललाई पनि प्रदेश सरकारमा सहभागिता गराउने तयारी थियो । तर संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा लोसपा नेपालले विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै तत्काल मन्त्रिपरिषद्मा लोसपालाई सहभागी नगराउने योजनामा सत्ता गठबन्धन बैठकको निष्कर्ष रहेको छ ।
सत्ता साझोदर दलहरुबीचमा मन्त्रालयको नबढाउने तथा मन्त्री एवं राज्यमन्त्रीको संख्यालाई विगतको प्रदेश सरकार जस्तै यथावत राख्ने सत्तारुढ गठबन्धन वीच समझदारी भएको विनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए ।
स्रोतका अनुसार विनाविभागीय मन्त्री सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
तर यता विनाविभागीय मन्त्री सरोज यादवले तीन दिन भित्रमा प्रदेश सरकारले पूर्णता पाउने बताए ।
सत्तागठबन्धनको बैठकमा भएको छलफल अनुसार नेकपा माओवादी केन्द्रले १, जनमत पार्टीले २, जसपा नेपालले ३ र नेकपा एमालेले ४ वटा मन्त्रालय पाउने छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले गत पुस २७ गते नियुक्त भएका थिए भने २९ गते तीन जना विना विभागिय मन्त्रीसहित सपथ लिएका थिए ।
