काठमाण्डौ, माघ १२

नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने भएको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीले दिएको जानकारी अनुसार हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भूसाललाई महासचिव बनाउन लागिएको हो ।

गत पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका घनश्याम भुसाललाई तत्कालै सचिवालय सदस्य पदमा मनोनीत गरेको थियो ।

अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउने गरी एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । माघ २१–२२ गतेका लागि बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।

०७१ को ९औँ महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए । तर गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भएका थिए ।

एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर गत २३ असोजमा भूसाल एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । तर चुनाव जित्न भने सकेनन् ।

त्यस्तै एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा प्रवेश गराउने प्रयासमा छन् ।

गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफलमा समेत छन् ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई भने बुझाएका छन् ।

आफू एमालेमा नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले बताए ।