जनकपुर, माघ १७
जनकपुरधाममा मंगलबारदेखि ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ आज देखि सुरु भएको छ ।
मंगलबारदेखि जनकपुरधाममा हरिज स्पोर्टस जोनले स्थानीय रंगभूमी मैदानमा प्रतियोगिताको आयोजना गरेको हो ।
विद्यालय स्तरीय क्रिकेटको खेलको उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह र वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा गरेका थिए ।
नगर उपप्रमुख साहले उपमहानगरपालिकाले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई आग्रह गरेका छन् । उनले खेल स्वास्थ्यसंग जोडिएकोले यस तर्फ उपमहानगरपालिका सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।
धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकासमा समस्या भएको बताए । खेल तर्फ सरोकारवाल तथा पत्रकारलगायतकाले समेत वास्ता नगर्दा खेलको नाममा राजनीति हुने गरेको उनको भनाई छ ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक १२ वटा विद्यालयहरूको सहभागिता रहेको बताए ।
लिगको आधारमा भइरहेको प्रतियोगितामा जनकपुरधाम तथा आसपासका विद्यालयहरूले भाग लिएको उनले बताए ।
प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढि संख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले बताए ।
प्रतियोगिताको बिजेताले ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्नपछि प्रतिभावा्न खेलाडीहरूको समुह बनाएर नियमित प्रशिक्षण दिइने योजना कार्यान्वयन गर्ने आयोजक संस्था तयारी रहेको छ ।
