जनकपुर, माघ २२
जनकपुरधाममा जनप्रतिनिधि र एक विद्यालयका प्रधानाध्यपक वीचको विवादका कारण विद्यालयमा पठनपाठनमा प्रभाव परेको छ ।
छात्राहरुका लागि एक मात्र विद्यालय रहेको जनकपुरधाममा प्राविधिक विद्यालयको भवन निर्माणका लागि आएको बजेट विद्यालयबाट फिर्ता गरेपछि प्रधानाध्यापक र वडाअध्यक्ष वीचको विवाद तालाबन्दीदेखि ताला फोड्नेसम्म पुगेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा सिटिइभिटि अन्तर्गतको अध्ययनअध्यापनका लागि मधेश प्रदेश सरकारले गत वर्ष १५ लाख रुपैयाँ बजेट भवन निर्माणका लागि दिएको थियो । सो बजेट रकम फिर्ता गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अर्जुन चौधरीले प्रधानाध्यापक मोदनारायण राउतको विरोधमा उनकै कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालबन्दी भएको करिब पाँच दिनपछि स्थानीयवासीले प्रहरीको रोहबरमा आज ताला फुटाएका छन् ।
प्राविधिक विद्यालयको भवन निर्माणका लागि आएको बजेट सदुपयोग नै नगरी तजविजको आधारमा रकम फिर्ता गरेको भन्दै वडाअध्यक्ष अर्जुन चौधरीले विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक राउत र वडा अध्यक्ष चौधरीले एक अर्कामाथि आरोपप्रत्यारोपमै उत्रेका छन् ।

प्रधानाध्यापक राउतले वडाअध्यक्ष चौधरीले रकमलाई आफु अनुकुल खर्च गर्न र भुक्तानी दिन दवाव दिदाँ आफुले रकम फिर्ता गर्नु गरेको जिकिर गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका वडाअध्यक्ष चौधरीले विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै रकम फिर्ता गर्नु प्रधानाध्यपाकको कार्यशैली र क्षमतामाथि प्रश्न उठेकाले प्रधानाध्यपकको विकल्प खोज्दा ताला लगाएको स्वीकारेका छन् । तर उनले विद्यालयमा प्रधानाध्यपक राउतलाई मनोमानी गर्न नदिदाँ उनले आफुमाथि षड्यन्त्र गरेको आरोप पनि लगाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चौधरीले विद्यालय भवन निर्माणका लागि आएको बजेट अनुसार कामकारवाहीका लागि उपभोक्ता समिति गठन गरेर कार्य अघि बढाउन भन्दा प्रधानाध्यापक राउतले गुपचुपरुपमा रकम फिर्ता गरेको बताए ।
यता प्रहरीको रोहबरमा ताला फुटाएका स्थानीय महेन्द्र साहले वडाअध्यक्ष र प्रधानाध्यापकको आपसी विवादका कारण पठनपाठनमा विद्यार्थीहरुलाई असर परेकाले सहज रुपमा अध्ययनको वातावरण बनाउन ताला फुटाएको प्रतिक्रिया दिए ।
