जनकपुर, माघ २२
वैदेशिक रोजगारमा रहेका एक नेपालीले करोडौ रुपैयाँ हात पार्न सफल भएका छन् ।
वैदेशिक रोजगारमा सात वर्ष अघि कतारको एक रेमिट कम्पनीको प्रतिनिधिको रुपमा मधेश प्रदेश सिरहाको गोलबजार वडा नम्बर १२ का रञ्जितकुमार पालले २३ मिलियन दिराम अर्थात ८२ करोड नेपाली रुपैयाँ चिठ्ठा परेको हो ।
रञ्जितले आफ्नो भाग्यमाथि ‘त्यति धेरै विश्वास’ नभएको भन्दै उनले ‘जितिहालिन्छ कि’ भनेर १५ महिनादेखि चिट्ठा किन्न थाले । र अन्ततः २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँबराबरको चिट्ठा जितेका हुन् ।
रञ्जित अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २ सय ४८ औं विजेता हुन् ।
बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेपछि रञ्जित निकै हौसिएका छन् । उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत रहेका छन् ।
उनले भने, ‘म ड्युटीमा थिएँ । काम गर्दै बिग टिकटको प्रत्यक्ष प्रसारण हेरिरहदाँ त्यही बेला एक जना ग्राहक आए र म काममा व्यस्त भएँ, उनले अघि थप्दैँ भने, ‘त्यही बेला मैले २३ मिलियन दिराम जितेको रहेछु । भन्ने थाहा पाएँ ।’
उनले जितेपछि उनलाई बिग टिकट कम्पनीले पनि फोन पनि गरेको थियो ।
उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकान पनि छन् ।
उनले साथीहरूसँग मिलेर रकम संकलन गरेर टिकट खरिद गरेकोको थियो ।
उनले भने, ‘हामीले यसपटक तीनवटा टिकट किनेका थियौ । दुईवटा किन्दा एउटा फ्रीमा पायौं’, उनले भने, ‘जितेको पैसा सबै जना मिलेर बाँड्ने हो । पैसा कानुनी तवरले नेपाल नै पठाउने हो। अलिक पछि नेपालमै केही गर्ने योजना बनाउँछु । अहिले के गर्ने भनेर केही सोच्न सकिरहेको छैन ।’
ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताएका छन् । उनले एउटा टिकट ५ सय दिराम खरिद गरेका थिए ।
रञ्जितको घरमा बुवा, आमासहित दस वर्ष उमेर र पाँच वर्ष उमेरका दुई छोरा छन् । परिवारका सदस्य सबै जना दंग रहेको उनले बताए । अहिले नै घर फर्कने योजना नबनाएपनि उनले भने, ‘पहिले पैसा हातमा आओस् अनि बिस्तारै योजना बनाउनुपर्ला ।’
बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खुल्ने गरेको चिट्ठा हो । त्यहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ ।