काठमाण्डौ, माघ २२

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएका छन् ।

रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आईतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बाहिरिने भएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिने छन् ।

पार्टीको बैठकपछि सभापति लामिछानेले मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने जनाएका छन् ।

प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच वटा मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय भएको छ ।