
जनकपुर, माघ २८
नेपाल आयल निगमका कार्यकारी निर्देशक इञ्जिनियर उमेश थानीले जनकपुरधाममा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गाको समस्या भएको बताएका छन् ।
शनिबार पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशन तथा साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले पेट्रोलियम पदार्थको भण्डार क्षेत्र ठूलोखालको राख्नुपर्ने आवश्यकता रहेकोले जनकपुरधाममा जग्गाका लागि पहल भइरहेको बताएका हुन् ।
उनले भने, ‘पेट्रोलियम पदार्थ भण्डारणका लागि हामी अहिले अमलेखगञ्जबाट एकैचोटि विराटनगरसम्म पठाउँदै आइरहेका छौं,’ उनले भने, ‘बिचमा भण्डारका लागि ठाउँको अभाव छ । हामी जनकपुरधाममा भण्डारणका लागि प्रयासरत छौं ।’
कार्यकारी निर्देशक थानीले जग्गाको समस्या समाधान भइसकेपछि जनकपुरधाममा पेट्रोलियम पदार्थ भण्डारणका लागि आयल निगम सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाल आयल निगम सरकारकी स्वामित्वको कम्पनी रहेको र यसमा सञ्चालक समिति पनि रहने भएकोले व्यवसायीहरुलाई सबैजनासँग एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले धनुषा जिल्लाभरि रहेका करिब ८१ वटा पेट्रोल पम्पहरुको हकहितका लागि गठन भएको संस्था पेट्रोलियम डिलर्स एशोसिएसनलाई एकताबद्ध रुपमा अगाडि बढ्न आग्रह गरे ।
सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पेट्रोलियम व्यवसायीहरूलाई मिलेर ईमान्दारीपूर्वक अगाडि बढ्न आग्रह गरे ।