जनकपुर, फागुन १

मधेश केन्द्रित पाँच साना दलहरु वीच सहकार्य तथा एकता हुने भएको छ ।

सोमबार जनकपुरधाम स्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालयमा भएको बैठकमा पाँच दलीय पार्टीहरु वीच सहकार्य तथा एकताका लागि साझा मुद्दाहरु पहिचान गर्नका लागि एक कार्यदल गठन गर्ने निर्णय भएको हो ।

बैठकबाट सहकार्यको निमित्त अवधारणापत्र र अन्य दस्तावेज तैयार गर्न तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहको अध्यक्षतामा छ सदस्यीय कार्यदल समिति गठन गरेको छ ।

सो समितिको अध्यक्षमा तमलोपाका वरिष्ठ नेता डा. सिंह, तराई–मधेश लोकतान्त्रिक पार्टीका सतीश लाल दास, नेपाल सद्भावना पार्टीका डा. रविन्द्र चौधरी, ऐतिहासिक जनता पार्टीका आनन्द साह, नेपाल लोकतान्त्रिक पार्टीका डा. कृष्णचन्द्र साह र राष्ट्रीय सद्भावना पार्टीका रविन्द्र सिंह रहेको तमलोपाका केन्द्रिय नेता उमेश मण्डलले जानकारी दिए ।

नेता मण्डलले भने, ‘बैठक विभिन्न पाँच पार्टीहरु बीच सहकार्यको निमित्त साझा मुद्दाहरूको पहिचानमा केन्द्रित रह्यो ।’

पार्टी सहकार्य तथा एकताका लागि भएको बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेश प्रसाद गुप्ता, राष्ट्रिय सद्भावना पार्टीको प्रवक्ता राजेश्वर ठाकुर, तमलोपाका सतीश लाल दास, धिरेन्द्र सिंह, योगेन्द्र राय, भोलानाथ झा, बिभा ठाकुर, बिमला साहको उपस्थिति रहेको थियो ।

तमलोपा, नेसपा, नेलोपा, रासपा, ऐजपाले ०७९÷१०÷१७ गते आपसमा एकता र सहकार्य आगाडि बढाउने निर्णय गरेका थिए ।