जनकपुर, फागुन १

उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि शान्ति सम्झौतालगायत बाकी रहेका कामहरु टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।

सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्तो आग्रह गरेका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत गर्नुपर्ने काम अहिलेसम्म सम्पन्न नभएको प्रति चिन्ता व्यक्त गरे ।

उपराष्ट्रपति पुनले सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउन आग्रह समेत गरे । उपराष्ट्रपति पुनले भने, ‘वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटोभन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कसैले दिएको भिख नरहेको भन्दै उनले काठमाण्डौमा बसेर संघीयताको विरोधमा बोल्नेहरुलाई लक्षित गर्दै आपत्ति जनाएका छन् ।

उनले काठमाडौँमा बस्ने केही मन्त्रीले संघीयता विरोधी अभिव्यक्ति दिएपछि उनले आपत्ति जनाउँदै भने, ‘ हजारौँको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएकोले संघीयता विरोधी अभिव्यक्ति दिनु अशोभनिय हो ।’May be an image of 10 people, people standing and people sitting

उनले हजारौँको बलिदानीपछि संघीयता आएको भन्दै माओवादी पनि संघीयताको पक्षधर पार्टी रहेकाले संघीयता संस्थागत गर्न आग्रह गरे ।

मुख्यमन्त्री यादवले भने, ‘आज प्रधानमन्त्री त्यसै पार्टीको छ । प्रहरी समायोजन, नागरिकता समस्या समाधान छिट्टै समाधान गरोस् । अहिले यो समायोजन भएन भने फेरि समस्या हुन्छ ।’

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

मधेस सरकारले मनाएको दोस्रो जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवकी छोरी सुधादेवी यादवलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । भने अन्य शहिद परिवारलाई खातामै रकम पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

उपराष्ट्रपति पुनले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।

मधेस सरकारले गत वर्षदेखि नै जनयुद्ध दिवस मनाउँदै आएको छ । जनयुुद्धको अवसरमा सार्वजनिक विदा पनि दिँदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दिएको अभिव्यक्तिको सार संक्षिप्त अंशः

माननीय मधेस प्रदेश प्रमुखज्यू, मधेस प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मधेस प्रदेशका माननीय सभामुखज्यू, संघीय सरकारका पूर्वमन्त्रीज्यूहरु, मधेस प्रदेशका माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यू र जनप्रतिनिधिज्यूहरु, सरकारका उच्च पदस्थ कर्मचारीज्यूहरु, आदरणीय सहिद परिवारजन, कार्यक्रममा उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, पत्रकार साथीहरु, यहाँहरु सबैमा मेरो हार्दिक नस्कार तथा न्यानो अभिवादन !
आज फागुन १ गते । यो देशको राजनीतिक तथा सामाजिक परिवर्तन सहितको एउटा युग परिवर्तनका लागि नेपाली जनताले सचेततापूर्वक नयाँ ढंगको संघर्ष थालनी गरेको दिन हो । आजकै दिन २७ वर्षपहिले नयाँ राज्य व्यवस्था तथा गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले जनयुद्ध सुरु गरेका थिए । जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन लगायत त्यसअघि र पछि भएका क्रान्ति तथा आन्दोलनबाट देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतासहितको नयाँ राज्य व्यवस्था स्थापित भएको छ ।
यो राज्य व्यवस्था प्राप्तिका लागि भएको संघर्षमध्यको महत्वपूर्ण आन्दोलन जनयुद्ध सुरु भएको दिनको सम्मानमा मधेस प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानद्वारा आयोजित ‘जनयृद्ध दिवस समारोह–२०७९’मा उपस्थित हुन पाउँदा ज्यादै गौरवको महसुस भएको छ । यस दिवसको अवसरमा म यहाँ उपस्थित सम्पूर्ण महानुभाव र सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जनयुद्ध, मधेस आन्दोलन लगायतका नेपाली क्रान्तिमा जीवन गुमाउनु हुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिद परिवारजनमा सम्मान व्यक्त गर्दछु । जनयुद्ध र सबै खाले क्रान्ति तथा आन्दोलनका घाइते अपाङ्गहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
जनयुद्ध दिवसमा आज देशैभर विविध कार्यक्रम भइरहेका छन् । संघीय सरकारले सार्वजनिक विदा दिइ नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको छ । संघीय सरकारले सार्वजनिक विदा दिनुअघि नै मधेस, बागमती र कर्णालीका प्रदेश सरकारहरुले सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरिसकेका छन् । थुप्रै स्थानीय सरकारले पनि सार्वजनिक विदा दिएका छन् । यो दिवस मनाउन तथा जनयुद्धको योगदानलाई स्थापित गर्न भने मधेस सरकार नै अग्र भागमा छ । अघिल्लो वर्षदेखि सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउन सुरु गर्नु र यसवर्ष सहिद परिवारलाई सम्मानसहित भव्य समारोह आयोजना गर्नु मधेस सरकारको ऐतिहासिक कार्य हो । यो परिवर्तनकलाई आत्मसाथ गर्नुका साथै इतिहासप्रति गौरव र सम्मान गर्नु हो । जनभावनाको कदर गर्नु हो । र, यो एउटा वैचारिक प्रतिवद्धता पनि हो भन्ने मलाई लाग्छ । यो महत्वपूर्ण कार्यका लागि मधेस प्रदेश सरकार र मधेस प्रदेशका जनताप्रति सम्मानसहित आभार व्यक्त गर्न चाहान्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
हामी सबैलाई थाहा छ –जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय असमानताको अन्त्यसहित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न, मानव मानवबीचको असमानताको अन्त्य, देशको आमूल परिवर्तन, पहिचान र अधिकार स्थापना गर्न तथा सार्वभौम राष्ट्र निर्माण गर्न र आन्तरिक राष्ट्रियता सुदृढीकरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि जनयुद्ध लगायत विभिन्न कालखण्डमा क्रान्ति तथा आन्दोलनहरु भए । २०५२ फागुन १ देखि दशवर्षसम्म सञ्चालित जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, जनजाति तथा थारु आन्दोलन पछिल्लो समयका क्रान्ति तथा आन्दोलन हुन् । यी क्रान्ति तथा आन्दोलनका सम्पूर्ण उद्देश्यहरु पूरा भए की भएनन् ? यसको समीक्षाको पाटो अलग्गै छ ।
तर सत्यकुुरा यी क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र आएको हो । संघीयता, धर्मनिरपेक्षताल, सामाजिक न्यायसहितको समानुपातिक समावेशीता आएको हो । सिंहदबारमा केन्द्रित अधिकार र सेवाहरु प्रदेशमा तथा स्थानीयस्तरमा पुगेको हो । हामीले आज मधेस प्रदेश भनिरहेका छौँ । मधेस सरकार भनिरहेका छौँ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट यस प्रदेशका जनतालाई सेवा प्रवाह गर्ने कोशिस गरिरहेका छौँ । राज्यका सबै निकायमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने कोसिस पनि गरिरहेका छाँै । म यी उपलब्धीप्रति गौरव गर्न सबैमा आग्रह गर्दछु ।
राज्य पुनर्संरचनाअनुसार बनेका ७ वटा प्रदेशमध्ये मधेस प्रदेशले पहिचानको आधारमा नामाकरण गर्न सफल भएको छ । यसका लागि म मधेस प्रदेशको संसद, सरकार, राजनीतिक दल, संघ संस्था तथा जनसमुदायलाई बधाई सहित धन्यवाद दिन भन्न चाहन्छु ।
नयाँ शासन व्यवस्था स्थापित भएको छ । हामीले जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूत गराउन सकेनौं भने पक्कै पनि चुनौतीका चाङ लाग्ने छन् र यो परिवर्तनप्रति नै प्रश्न उठ्ने छ । यसकारण यो जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशसहितका सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्दछ र यहाँका राजनीतिक दल, यसको नेतृत्व, कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र समाजसेवी बुद्धिजीविबाट एकताबद्ध भएर जनकांक्षा पूरा गर्ने संकल्प गरिनुपर्दछ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
हाम्रा उपलब्धीहरुलाई संविधानले संस्थागत गरिसकेको छ । हाम्रो संविधान एउटा सहमतिको दस्तावेज हो । यसलाई अग्रगामी भनेको छौँ । संविधानलाई परस्कृत, परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न भने हामीले अझ थुप्रै मेहनत र प्रयास गर्नुपर्नेछ । यो एक गतिशील दस्तावेज भएकाले यसलाई समय र सन्दर्भअनुसार अझै उत्कृष्ट बनाउन सकिन्छ । अर्कोतर्फ हामीले नेपालको शान्तिप्रक्रिया तथा सेना समायोजन लगायतका विषयहरुलाई मौलिक रुपमा अगाडि बढायौं । आज विश्वका द्वन्द्वग्रस्त थुप्रै मुलुकहरुले नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिइरहेका छन् । द्वन्द्वरत पक्षहरुले नेपाल भ्रमण पनि गरिरहेका छन् । यो हाम्रो लागि गौरव र खुसीको कुरा हो ।
तर, वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि संझौतालाई पूर्ण निष्कर्षमा पु¥याउन भने सकिरहेका छैनौँ । शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने कामा सम्पन्न भएका छैनन् । शान्तिप्रक्रियाका यी कामलाई टुंगोमा पु¥याउने समय घर्किदै गएको छ । म जनयुद्ध दिवसको अवसरमा यी आयोग र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु की –शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याऔँ । वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटो भन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण तथा न्यानो स्वागतका साथ मधेस प्रदेशका जनतासँग भेटघाट र भलाकुसारी गर्ने अवसर दिएकोमा मधेस प्रदेशका माननीय प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सभामुखज्यू, गृह तथा सञ्चारमन्त्रीज्यू र मधेस प्रदेश सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । धन्यवाद ।