जनकपुर, फागुन १

संसदीय व्यवस्थाको विध्वंश गरी नेपालमा नयाँ जनवादी राज्यव्यवस्था निर्माण गर्ने घोषित लक्ष्यका साथ दश वर्षसम्म चलेको जनयुद्धको उद्घोष गरेको दिनको स्मरण, सम्मान र क्रान्तिकारी संकल्पका साथ मुलुक भर विभिन्न आवरणमा छरिएर रहेका माओवादी घटकहरुले जनयूद्ध दिवस विविध कार्यक्रम गरि मनाएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले पनि विभिन्न कार्यक्रम गरि मधेश प्रदेश भर नै मनाएका छन् ।

मधेस प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी)ले तीनवटा जिल्लामा केन्द्रित र अन्य जिल्लामा विकेन्द्रित रुपमा जनयुद्ध दिवस मनाएको छ ।

नेकपा क्रान्तिकारी माओवादी धनुषाले नगराई नगरपालिका स्थित नगराईनमा जनयुद्ध दिवसको अवसरमा प्रदर्शन तथा सभा गरेको छ ।

नगराईन नगरको विभिन्न भागको परिक्रमा गर्दै जनयुद्ध दिवस, शहिद र माओवादीको एजेण्डासहितका विभिन्न कार्यभारहरु पूरा नभएको भन्दै नारावाजीसहित प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शन पछि आयोजित सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी धनुषा जिल्लाका सेक्रेट्ररी शीतल कर्णले जनयूद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएपनि जनताको शासन अझैसम्म नआएकोले संघर्ष जारी नै रहेको बताएका छन् ।

उनले माओवादी आन्दोलनसँग सत्ता र कुर्सीको मोहमा पुष्पकमल दाहाल प्रचण्डले गद्दारी गरेको आरोप समेत लगाए ।

उनले जनयुद्ध दिवसको अवसरमा प्रचण्ड नेतृत्वको सरकारले दिएको प्रति सकारात्मक प्रतिक्रिया दिएपनि उनले जनयुद्ध, जनयुद्धबाट प्राप्त उपलब्धी र पार्टीको नाम रहेको नेकपा माओवादी तथा पार्टी झण्डा समेत बदल्न तयार रहेका माओवादी केन्द्रका अध्यक्षले जनयुद्धलाई वीचमै छाडेर गद्दारी गरेको आरोप लगाए ।

उनले जनयुद्धको एजेण्डा र जनताले पाउनुपर्ने अधिकार अझैसम्म पनि प्राप्त नभएको तथा प्राप्त उपलब्धीको रक्षाका लागि पनि आन्दोलन आवश्यक रहेको बताए ।

सो कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता नन्दकुमार झाले संसदीय व्यवस्थामा राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि जनतालाई बेवास्ता गरेको आरोप लगाए । उनले जनताको वास्तविक व्यवस्था ल्याउनलाई अझैपनि प्रतिक्रियावादी सरकारलाई खबरदारी गराउँदै आन्दोलन गर्नुपर्ने बताए ।

त्यस्तै पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवारले दिएको जानकारी अनुसार सिरहाको गोलबजार, सर्लाहीको हरिवन र रौतहटको गौरमा केन्द्रित रुपमा जनयुद्ध दिवस मनाई रहेको बताए ।

प्राप्त जानकारी अनुसार सर्लाहीको हरिवनमा गरिने कार्यक्रमलाई प्रदेश इन्चार्ज दनुवारले सम्बोधन गर्नेछन् भने सिरहाको गोलबजारमा हुने कार्यक्रमलाई प्रदेश सेक्रेटरी रामनारायण सिंह र रौतहटको गौरमा हुने कार्यक्रममा केस प्रल्हाद साहले सम्बोधन गरेको छ ।