जनकपुर, फागुन १

जनकपुर साहित्य महोत्सवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगतामा पाँच जना उत्कृष्ट विद्यार्थीको छनोट भएका छन् ।

सोमबार जनकपुरधाम स्थित जनकपुरधाम उद्योग वाणिज्य संंघमा भएको वक्तृत्वकला प्रतियोगितामा राखी ठाकुर (मदरटेरेसा पब्लिक स्कूल ) ४२१ अंक, अभिप्सा झा (डेफोडिल्स पब्लिक स्कूल ) ४११ अंक, अंजन ठाकुर (डेफोडिल्स पब्लिक स्कूल ) ३९२.५ अंक, अनिशा कुमारी (मिट स्कूल) ३८७ अंक र अंजली कुमारी यादव (जनकपुर पब्लिक स्कूल ) ३८४.५ अंक प्राप्त गरि उत्कृष्ट भएको हो ।

सो वक्तृत्वकला प्रतियोगितामा ५४ भन्दा बढी छात्रछात्राहरु सहभागी भएका थिए ।

पहिलो चरणको छनोटका लागि पाँच जना निर्णायक मण्डलमा जनकपूरधाम उपमहानगर पालिकाका शिक्षा शाखा प्रमुख मेहीलाल लाल यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीषरमन साह, संचारकर्मी घनश्याम मिश्र, महिला नेतृ रुणा झा र रेणुका जीसी रहेका छन् ।

मंगलबार पुनः विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका ५० बढ़ी छात्र तथा छात्रा सहभागी हुने आयोजकले जनाएका छन् ।

उत्कृष्ट हुनेहरुलाई ११ गते देखि हुने जनकपुर साहित्य महोत्सवको चौथो संस्करणमा प्रस्तुति पश्चात पहिलो, दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीलाई सम्मान–पत्र सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।