जनकपृुर, फागुन २

जनमत पार्टीले पार्टी छोडेर गएका नेताहरूलाई पार्टीमा ल्याउने योजना माथि कडाई गरेको छ ।

काठमाडौँमा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेमा ६ वर्षसम्म कुनै पनि लाभको पदमा वा निर्वाचनमा सहभागी हुन नदिने भएको हो ।

निर्वाचनको क्रममा अन्तर्घात गरेका, अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीको तयारी भइरहेको जनमत पार्टीले जनाएको छ । उक्त विषयहरूमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने पनि जनमत पार्टीले जनाएको छ ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म चलेको बैठकमा संगठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको जनाइएको छ । घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति\फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल जनाइएको छ ।

भातृ संगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापनलगायतका विषयमा समेत छलफल भएको छ ।

पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्लास्तरीय नेताहरूलाई पार्टी प्रवेशमा शीघ्रताका साथ गराउने तथा त्यसको लागि संयन्त्र निर्माण गर्नेगरि कार्यहरु अघि बढाएको जनमतले जनाएको छ ।