दिल्ली, फागुन २

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको केही महिना नवित्दै ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा हानेको छ ।
भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको छ ।

केही महिना अघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै भारत सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि समेत प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री मोदी गुजरात राज्यको मुख्यमन्त्री रहदाँ सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको केही समयमा नै भारतमा उक्ता लिंक ब्लक गरिएको थियो ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू समेत बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरेको छ । एजेन्सी