जनकपुर, फागुन २

नेकपा एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले व्यूरोक्रेसीका कारण हरेक क्षेत्रमा विकृति विसंगती निम्तिएको बताएका छन् । उनले कर्मचारीले खुलेआम घुस माग्दा पनि टुलुटुलु हेरेर बस्नु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले शिक्षित र समृद्ध प्रदेशका लागि शिक्षामा लगानी लगाउन सबैमा अपिल गरे ।

मंगलबार मधेश प्रदेशको प्रदेशसभा बैठकमा बोल्दै संसदीय दलका उपनेता ठाकुरले मुख्यमन्त्रीको योजना रहेको भन्दै ८ प्रतिशत कमिसन एक कर्मचारी अधिकारीले माग्दा पनि प्रदेश सरकारले केह ीगर्न नसक्नु दुःखद रहेको बताए । उनले भने, ‘ मुख्यमन्त्रीज्यू, तत्काल भ्रष्टाचार नियन्त्रण गर्ने विधेयक ल्याउनुस् र आजैदेखि प्रदेशमा कानूनी राज्यको प्रत्याभूतिका लागि जनताको हक अधिकारका निमित्त काम गर्नुस् ।’

उपनेता ठाकुरले कर्मचारीले खुलेआमरुपमा अन्य माननीयको योजनामा दस प्रतिशत भन्दा बढी कमिसन लिने गरेपनि मुख्यमन्त्री आफ्नै मान्छे भएकाले ८ प्रतिशत कमिसन दिनैपर्ने बाध्यताको सृजना गर्नु भनेको काम गर्ने वातावरण नरहेको स्पष्ट पारे ।

उनले भ्रष्टाचारी कर्मचारीलाई पालेर पोसेर राज्यलाई लाभ नहुने भएकाले तत्कालै भ्रष्टाचार नियन्त्रणका लागि विधेयक ल्याउन माँग गरे ।

उनले भने, ‘कर्मचारी कुटिदा संगठित भएर आन्दोलन गर्ने अनि सेवाग्राहीलाई सेवा दिनुको साटो कमिसन र भ्रष्टाचार गर्न खोज्नेलाई हामीले टुलुटुलु हेरेर बस्नु परेको भन्दै उनले तत्काल विधेयक र ऐनकानून ल्याउनका लागि मुख्यमन्त्रीज्यूसँग आग्रह गर्दछु ।’

उनले मधेश प्रदेश सरकारको मातहतमा प्रहरी र प्रशासन नआउदाँ जनतालाई अमन शान्ति चयन कायम रहेको प्रत्याभुति दिलाउन नसक्नुमा संघीय सरकारको कमजोरी रहेकाले तत्काल यसका लागि पहल गर्न समेत माग पनि गरे ।

उनले भने, ‘यहाँ गरिब निमुखा आमजनताले न्याय पनि न्यायलयबाट किन्नु परेको गुनासो गर्दै भने‘ यँहा न्याय माँगेर भेटिरहेको छैन,यँहा न्याय पनि किन्न परिरहेको छ् । यँहा गरिब निमुखा जनताले कहिले न्याय पाउँदैन, केबल पैसा र पहँुचबालले मात्रै न्याय पाउँछ ।’

उनले व्यूरोक्रेसीले समाजमा विकृति विसंगती फैलाउदाँ पनि हामीले टुलुटुलु हेरेर बसेर मतदाता र जनतासँग गरेको वाचा विरोधी काम गर्नु न्यायसंगत नरहेको बताए । उनले यसका लागि व्यूरोक्रेसीमा पनि तत्काल सुधारको आवश्यकता रहेको बताए ।

उनले जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न माग गरेका हुन् ।

उपनेता ठाकुरले भने, ‘जनकपुर यातायात व्यवस्था कार्यालयमा ७७ वटै जिल्लाका मान्छेहरु सवारी चालक अनुमति पत्र लिन आउँछन्, यातायात कार्यालयको डाटा हेर्दा प्रत्येक महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ, यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’

भ्रष्टाचार रोक्लाई प्रदेश सरकारसँग उनले आग्रह गरे । संघीयता लडेर लिइएको भन्दै उनले संघीयताको अनुभूति हुनेगरी काम गर्न सरकारसँग आग्रह गरे ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धि पठाएको पत्र पढेर सुनाएपछि नवनिर्वाचित मुख्यमन्त्री यादवलाई संसदीय दलका नेता तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुले कार्यकाल सफलताका लागि शुभकामना मन्तव्य दिएका थए ।

नेकपा एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य जंगीलाल राय यादव, जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य राम अशिष यादव, जनमत पार्टीबाट प्रदेशसभा सदस्य चन्दन सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता अभिराम शर्मा, नेकपा माओवादी केन्द्रबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने, प्रदेशसभा सदस्य कञ्चन विच्छा, प्रदेशसभा सदस्य विमला अन्सारी, उर्मिलादेवी सिंह, जवाहरलाल कुशवाहाले शुभकामना दिएका थिए ।

अब प्रदेशसभाको बैठक भोली बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।