
जनकपुर, फागुन २
“हमर मिथिला” शीर्षकको कविता प्रतियोगितामा उत्कृष्ट १० जना छात्र–छात्रालाई छनोट गरिएको छ ।
नव मिथिला फाउण्डेशनको आयोजनमा हुन गईरहेको जनकपुर साहित्य महोत्सव २०७९ को चौथो संस्करणमा सहभागीताको लागि भएको कविता प्रतियोगितामा विभिन्न विद्यालयका १० जना विद्यार्थीलाई छनोट गरिएको हो ।
कविता प्रतियोगितामा धनुषाको २० भन्दा बढी विद्यालयका ४० जना छात्र–छात्राहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।
४० मध्येबाट अंकको आधारमा उत्कृष्ट प्रस्तुति गरेका १० जना छात्र–छात्रालाई मुख्य प्रतियोगिताको लागि छनोट गरिएको नव मिथिला फाउण्डेशनका अमित कुमारले जनाएका छन् ।
उत्कृष्ट १० मा ज्ञानकुप माविकी छात्रा बैदेही ठाकुर, मिट स्कूलकी छात्रा सुनीता ठाकुर, ज्ञानकूप माविकी छात्र आदर्श कुमार झा , ओमआरसीएसका छात्र निशान्त ठाकुर , साउथ प्वाइन्टका छात्र प्रभाकर झा, मदर टेरेसाकी छात्रा भूमिका साह, जनकपुर पब्लिककी छात्रा अस्मिता खातून, एर्रे इंटरनेसनलकी छात्रा अनन्या सिंह, सिद्धार्थ शिशु सदनकी छात्रा कृतिका यादव र जानकी माविका छात्र अभिजीत झालाई छनोटमा परेको उनले बताए ।
सो कार्यक्रममा निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार प्रा.डा. रेवती रमण लाल , साहित्यकार तथा गीतकार दिगम्बर झा दिनमणि, साहित्यकार अयोध्यानाथ चौधरी , प्राध्यापक ओम कुमार झा र लेखिका किरण रश्मिले भुमिका निर्वाह गरेका थिए ।
विजेता छात्र तथा छात्राहरुले फागुन ११ र १२ गते जानकी मन्दिर प्रांगणमा हुने विशेष कार्यक्रममा फाइनल प्रस्तुति गर्ने छन् । छनोटमा परेका १० जना छात्र तथा छात्रालाई ५÷५ हजार रूपैयाँसमेत प्रदान गरिनेछ ।
यही फाल्गुन ११, १२ र १३ गते जनकपुरधाममा “जनकपुर साहित्य महोत्सवको आयोजन हुदैँछ । ३ दिन सम्म चल्ने उक्त महोत्सवमा २३ वटा विभिन्न शीर्षकमा सत्रहरू सञ्चालन हुनेछ । महोत्सवमा भारतका चर्चित गायिका मैथिली ठाकुर, संखवादन र स्त्रोत्र गायनको लागि डा. विपिन मित्र र कविता र लेखक नीलोत्पल मृणाल सहभागी हुने छन् । नेपाल र भारतका चर्चित साहित्यकार, कवि, गायक, लेखकलगायतकाहरुको पनि सहभागिता रहने आयोजक जनाएको छ ।