
जनकपुर, फागुन २
धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा कार्यरत रहेका कर्मचारीमाथि कुटपिट भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियन धनुषाले भत्र्सना गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल निजामति कर्मचारी युनियन धनुषाका उपाध्यक्ष चन्द्रनारायण मण्डल र सचिव प्रकशकुमार कर्णले संयूक्तरुपमा एक विज्ञप्ती जारी गर्दै तत्काल न्याय दिलाउनका लागि सरोकारवालको ध्यानाकर्षण गर्दै सुरक्षा तथा काम गर्ने वातावरणको सृजना नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
यूनियनले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाको अध्यक्ष जयकुमार यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दासको व्यवहारको भत्र्सना गरेको छ ।
माघ २५ गते मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीद्वय अधिकृत छैठौं श्रवण कुमार यादव र आन्तरिक लेखा परीक्षक सहायक पाँचौ नविन कुमार साहमाथि सोही गाउँपालिकाका अध्यक्ष जयकुमार यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दास लगायत उनको आसेपासे समेतको समूहले कुटपिट र गाली बेइज्जती गरेको आरोप लगाएको छ ।
नेपाल निजामति कर्मचारी युनियन धनुषाले जारी गरेको विज्ञप्तीमा भेनको छ, ‘घटनाप्रति यस निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको घोर भत्र्सना गरि घटनाप्रति खेद प्रकट गर्दछौं ।’
सो विज्ञप्तिमा ‘राष्ट्रसेवामा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारीमाथि गरिएको भौतिक एवं मानसिक आक्रमण समग्र राष्ट्रसेवक कर्मचारीमाथि कै प्रहार हो भन्ने हाम्रो ठहर रहेको छ, ‘यस किसिमको अमानवीय कार्यमा संलग्न दोषिमाथि कडा भन्दा कडा कारवाहीका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।’ उल्लेख गरिएको छ ।
दोषीमाथि उचित कारवाही तथा पिडीतले न्याय नपाए नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाले चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको युनियनका उपाध्यक्ष चन्द्र नारायण मण्डल र सचिव प्रकाश कुमार कर्णद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।