जनकपुर, फागुन ३

मधेश प्रदेशको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेसकी सचेतक जिवछी यादवले प्रदेशमा शिक्षा र शिक्षकको अवस्था निकै संकटपूर्णरुपमा रहेको प्रति चिन्ता व्यक्त गरेकी छन् ।

बुधबार बसेको प्रदेशसभाको बैठकमा सचेतक यादवले गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षा, दक्ष शिक्षक र दक्ष मानसिकरुपमा तन्दुरुस्त हुन आवश्यक रहेको बताइन् ।

उनले संघीय सरकारले अहिलेसम्म पनि शिक्षालाई बेवास्ता गरिएको देखिएको पनि आरोप लगाइन् ।

उनले मुलुकमा राहत शिक्षक, स्वयम्सेवक शिक्षक, सप्तरीमा पारिश्रमिक शिक्षक समेतको स्थानीय तहबाट राखिन थालिएपनि शिक्षकको मनोबल भन्दा पनि शिक्षाको अवस्था खस्कदो रहेको प्रति मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले संघीय सरकारले शिक्षा नियमावली ऐन ८ औँ पटक संशोधन गरेपनि मुलुकमा ४० हजार राहत शिक्षक संकटको घेरामा रहेको बताइन् ।

उनले शिक्षा दिनका लागि सरकारलाई गम्भिर हुन आग्रह पनि गरिन् । उनले अर्को प्रसंगमा प्रदेश सरकारले बजेट कटौती गरेपनि बजेट खर्च समयमै गर्न पनि प्रदेश सरकारलाई आग्रह गरिन् । उनले असार मसान्तमा खर्च गर्ने परिपाटीको अन्त्य हुनु आवश्यक रहेको बताइन् ।