काठमाण्डौ, फागुन ४

खानेपानी मन्त्री अब्दुल खानले खानेपानीका लागि आवश्यक गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् ।

बिहीबार काठमाण्डौ स्थित खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका हुन् ।

मन्त्री खानले मन्त्रालय र यस अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने बताए ।

जनताका गुनासो लिन कार्यालय समयमा ४ जना कर्मचारी खटिने छन् भने कार्यालय बन्द भएपछि फोन गरेर गुनासो रेकर्ड गराउन सकिने व्यवस्था समेत रहेको उनले बताए । जनताबाट आएको गुनासो सम्बोधनका लागि गुनासो अनुसारका कार्यालयले समाधानका लागि ध्यानाकर्षण गर्ने उनको भनाई छ । त्यस्तै उनले सिंहदरबारभित्र अब पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने बताए । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताए । उनले पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए ।

उनले सिंहदरबार आएका बेला प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्ने बताउँदै आफूले प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र सबैलाई सो पानी प्रयोग गर्न प्रेरित गर्न लागेको पनि बताए । त्यस्तै काठमाडौँका सार्वजनिक स्थल, एयरपोर्ट, बसपार्क लगाएका स्थानमा सेन्सर जडित सार्वजनिक धारा राख्ने योजना अघि सारेको उनले बताए ।

उनले भने, ‘आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको छ ।’

उनले तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पु¥याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ सोका लागि अहिले काम समेत थालेको बताए ।

त्यस्तै मन्त्री खानले दूषित खानेपानीका कारण ८० प्रतिशत रोग लाग्ने भन्दै स्वास्थ्य मन्त्रालयलाई भन्दा खानेपानी मन्त्रालयलाई धेरै बजेट दिन आवश्यक बताए । सो अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले टोल फ्री नम्बर सार्वजनिक गरिएको छ ।