काठमाण्डौ, फागुन ४

नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान हुदैँछ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।
अध्यक्षका लागि आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गरेको छ ।

महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । त्यस्तै १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।

७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै नै छ । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै भएको जनाइएको छ ।

महासचिवका लागि पाँचैजना उम्मेदवार प्रतिष्पर्धामा छन् । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्य उम्मेदवार रहेका छन् ।

त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा रहेको छ । त्यस्तै १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुदैँछ ।