काठमाण्डौ, फागुन ४

राष्ट्रपतिको विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्ष वीच घनिभुत छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको बालुटार स्रोतले जनाएको छ ।

ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने जवाफ दिएको स्रोतले बताएका छन् । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति अनुसार अघि बढ्न स्मरण गराएका थिए ।

सो क्रममा अध्यक्ष ओलीले गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न चलखेल भइरहेको भन्दै कांग्रेस नेताहरूले दिएका अभिव्यक्तिहरू मुलुकमा अस्थिरता फैलाउने किसिमका भएकाले सचेत रहन आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिनेमा आफ्नो प्रयत्न रहिरहने बताएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपतिबारे दुवै दल सहमतिमै अगाडि बढ्ने पक्षमा रहेको भन्दै थप छलफल गर्दै जाने बताएका छन् । उनले एमालेसँग सहमति भए पनि नभएपनि माओवादीले राष्ट्रपतिबारे आधिकारिक निर्णय गरेर अघि बढ्ने बताए ।

यो गठबन्धन पाँच वर्षसम्म कायम रहनु पर्ने पक्षमा एमाले रहेको र त्यो कायम राख्न विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डले विशेष पहल लिनुपर्ने एमालेको भनाई छ ।