
जनकपुर, फागुन ४
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक जनप्रतिनिधिले नागरिकताको प्रतिलिपि निकाल्नका लागि सिफारिस लिन गएका सेवाग्राहीलाई दुव्र्यवहार गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ स्थित इच्छापुरका हरिचन पण्डित १० दिन अगाडि नागरिकताको प्रतिलिपि निकाल्नका लागि सिफारिस पत्र लिन वडा कार्यालय पुगेका थिए ।
त्यहाँ पुग्दा वडाअध्यक्ष अवधकिशोर यादवले चुनावमा आफूलाई मत नदिएको भन्दै सिफारिस नगर्ने बताएको पीडित हरिचन पण्डितले आफ्नो गुनासो पोखे ।
उनले भने, ‘सिफारिस लिन वडा कार्यालय जाँदा वडाध्यक्ष कार्यालयमा हुनुहुन्थेन। पण्डितले पछि त्यहाँका कार्यालय सहयोगीले अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि चिया पसलमा पठाइदिन भन्नुभयो त्यहाँ गएर पत्र दिँदा हस्ताक्षर त गर्नुभयो तर सिफारिसपत्र मेरो हातमा दिनुभएन आफैँ राख्नुभयो ।’
पीडित पण्डितले आफूहरूले पटक–पटक पत्र दिन आग्रह गरेपछि केरमेट गरेर फालिदिएको बताए ।
यता वडाअध्यक्ष यादवले सिफारिस लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको बताए ।
वडाअध्यक्ष यादवले भने, ‘म जनताको प्रतिनिधि हुँ र उनीहरूकै सेवाका लागि बसेको छु तर मैले हस्ताक्षर गरिसकेपछि मलाई नै उल्टो गालीगलौज गर्न थाले, त्यसैले मैले कागजातमाथि केरमेट गरीदिएका छन् ।
वडाअध्यक्ष यादवले सेवाग्राही पण्डितले आफूसँग माफी नमागेसम्म सिफारिस नदिने पनि बताए ।