जनकपुर, फागुन ५
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती ऐन र प्रहरी समायोजन तत्काल गर्न माग गरेका छन् ।
शुक्रबार जनकपुरधाम व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले संघ सरकारसँग निजामती ऐन र प्रहरी समायोजन भएमा २४ घण्टामै मधेस प्रदेशमा कुनैपनि किसिमको अनियमितता नहुने दाबी गरे ।
मुख्यमन्त्री यादवले भने, ‘संघ सरकार निजामती ऐन र प्रहरी समायोजन गर्न तयार भए २४ घण्टाभित्र यस प्रदेशमा कुनै किसिमको अनियमितता हुँदैन । भ्रष्टाचार र अपराध केही पनि हुँदैन । त्यसको ग्यारेन्टी म लिन्छु ।’
उनले संघीयत विरोधीहरुका कारण विगतदेखि नै प्रदेश सरकारको धेरै कामकारवाहीमा अप्ठ्यारो भएपनि संघीयतालाई मजबुत बनाउने काममा कुनै कठिनाई हुन नदिएको समेत दावी गरे ।
अर्को प्रसंगमा बोल्दै उनले विगत पाँच वर्षमा प्रदेश सरकारले सबभन्दा ठूलो काम जनकपुरधामलाई राजधानी तोकेर गरेको जिकिर गरे । उनले आफु सभामुख रहेको बेला आफ्नो एक्लो प्रयासले जनकपुरधामलाई राजधानी र मधेस प्रदेश नामकरण गर्न सफल भएको पनि बताए ।
मुख्यमन्त्री यादवले भने, ‘मैले प्रदेशको नाम र राजधानीका लागि प्रयास नगरेको भए दुबै मध्ये एउटा पनि हुने थिएन । त्यसको शत प्रतिशत ग्यारेन्टी थियो ।’
उनले राजधानीको मुख्य शहर जनकपुरधाम नै रहेकाले यसको विकासका लागि एक वर्ष भित्र बजेट विनियोजन गर्ने समेत स्पष्ट पारे ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो, मधेस प्रदेशकी सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहा, प्रदेशसभा सदस्य रामअशिष यादव, दिपेन्द्र ठाकुर, पूर्व प्रदेश सांसद परमेश्वर साहलगायतका वक्ताहरुले आ–आफ्नो मेलको सफलताको शुभकामना दिएका थिए ।