जनकपुर, फागुन ६
जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दश दिवसीय मेला लागेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेको मेला फागुन ५ गतेदेखि १४ गतेसम्म जनकपुरधामको तिरहुतीय गाछीमा चल्ने जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय व्यापार मेलामा बंगलादेश, पाकिस्तान, भारत, नेपाल तथा स्थानीयस्तरका व्यवसायलाई माथि उकास्न एवं व्यापार सम्बन्ध स्थापित गर्नका लागि पहिलो पटक जनकपुरधाममा मेलाको आयोजन गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन् ।
४५ लाख रुपैयाँको लागतमा आयोजित यस अन्तर्राष्ट्रिय मेलामा १ सय ३० वटा स्टलहरु छन् ।

यस मेलामा बंगलादेश गार्मेन्टमा उत्पादित सामग्रीहरु, पाकिस्तानमा उत्पादित लेदर विभिन्न सामग्रीहरु, भारतको बेदालय ग्रुपलगायतले उत्पादन गरेका सामग्रीहरु, स्थानीयतस्तरमा रहेका मिथिला पेन्टिंग, स्वदेशमै उत्पादन गरिएका काठका विभिन्न सामग्रीहरुसहित मुलुकभरमै विभिन्न उद्योग तथा कलकारखानाबाट उत्पादन गरिएका सामग्रीहरु व्यापार मेलामा रहेका विभिन्न स्टलहरुमा राखिएका छन् ।
त्यस्तै मिथिलाको कला, संस्कृतिसहितका मौलिकता झल्किने खालका सामग्रीहरुसमेत प्रदर्शनीमा राखिएको छ ।







