जनकपुर, फागुन ६

नेकपा एमालेले मधेश प्रदेशमा एक जनप्रतिनिधिलाई साधारण सदस्यता नरहने गरि मेयर पदबाट पदमुक्त गरेका छन् भने १० जना नेता तथा कार्यकर्तालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

एमालेको मधेश प्रदेश समितिको सचिवालय बैठकबाट एमाले मधेश प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित १० जनालाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै ३ महिनाका लागि कारवाही गर्नुपर्ने भन्दै पार्टी केन्द्रिय समितिलाई सिफारिस गरेको हो ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई पार्टीको साधारण सदस्यता नरहने गरि कारवाही गरिएको छ भने उनको मेयर पद खारेजीका लागि केन्द्रिय समितिलाई सिफारिस गरिएको जनाइएको छ । उनी आम जनता पार्टीका अध्यक्ष समेत रहेका प्रभु साहकी धर्मपत्नी हुन् ।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएपछि उनले श्रीमती रिनालाई पनि आफ्नैसंग लगेका थिए । तर केही महिना नवित्दे प्रभु साह एमाले पार्टी छाडेर नयाँ पार्टी गठन गरे ।

त्यस्तै देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाही जिल्लाका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्व जिल्ला सदस्य मौजेलाल साह कानु लगायतलाई एमाले मधेश प्रदेश समितिका प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जनाएका छन् ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि मेयर पदबाट समेत पदमुक्त गर्ने गरि कारवाही गरिएको उपप्रमुख कामतले बताए । त्यस्तै देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गर्ने गरि कारवाही गरिएको उनले बताए ।

उनले निर्वाचनका बेला पार्टीको उम्मेदवार विरुद्ध अन्य उम्मेदवारको भोट मागेको तथा पार्टी गतिविधि विरुद्ध कार्यमा लागेकाले कारवाही गरिएको बताए ।