काठमाडौँ, फागुन ७

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तालिका अनुसार तयारी थालेको छ ।

आयोगले यसका लागि निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने छ भने त्यहाँ दुइटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी रहेको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदानमा सहभागी हुने छन् । जसमाा सात वटै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताको नाम पठाइसकेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारीे मनोनयन दर्ता हुनेछ ।

नेपाली काँग्रेस, नेकपा एमाले राष्ट्रपतिका लागि नेकपा माओवादी केन्द्रसँग लविंग गर्दै आएपनि कसैलेपनि राष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छैन ।

अझैसम्म पनि दलहरूले राष्ट्रपतिमा उम्मेदवार कसलाई बनाउने भन्नेमाा टुंगो लगाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताएका छन् ।

एमालेले पनि गत पुस १० को सहमति अनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने जनाउदैँ आएका छन् ।