कैलाली, फागुन ७

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी राष्ट्रपतिबाट आम माफी पाएपछि रिहा भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।

१३ वर्ष अघि आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेका थिए । उनलाई पक्राउ गरि कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

२०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टरमा आगजनी गरेको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गरेको थिएन ।

कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत पनि गरेका छन् ।