
जनकपुर, फागुन ७
नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढ्ने भएको छ ।
भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो ।
४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट अहिले ६०० मेगावाट विद्युत आयात–निर्यात भईरहेको छ । अबदेखि ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जनाएका छन् ।
सहसचिव मरासिनीले जनाए अनुसार निर्माणाधिन ढल्केबर (नेपाल)–सीतामढी (भारत) प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिएको छ ।
त्यस्तै टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ भने संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।
वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत निर्यात गर्न आवश्यक संयन्त्र बनाउने र नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने बिजुली भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने पनि सहमति भएको छ । १३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट निर्यात गरिने छ ।
दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माण आगामी सन् २०२५ मार्चमा सम्पन्न गर्न सम्झौतामा चाँडै हस्ताक्षर हुने भएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा‘ ‘नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालको प्रस्ताव पेश भएमा भारतको विद्युत आयात–निर्यात निर्देशिका बमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको ।’ भनिएको छ ।