जनकपुर, फागुन ७
तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले तमलोपा लोकतन्त्र र मधेश मुद्दाको मशाल जलाइरहने बताएका छन् ।
अध्यक्ष लाल प्रजातन्त्र दिवसको अवसरमा तमलोपा धनुषा जिला कार्यसमितिले आयोजित वृक्षारोपण कार्यक्रममा राजनीतिक दल तथा नेताहरू पदको बाँडफाँड र त्यसको निमित्त लोकतन्त्रको स्वाभाविक अभ्यासलाई अवरोधित गर्ने कार्य गरिरहेको बताए ।
उनले नयाँ जेनरेसनको नेतृत्व क्षमता रोक्ने काम भइरहेको आरोप समेत लगाए । उनले भने, ‘सबैको ध्यान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र कुर्सी तथा पदका लागि सहमतिको कुरा हुन्छ तर लोकतन्त्रको संवर्द्धन र भ्रष्टाचारको अन्त्य गर्नबारे सहमति र एकजूट प्रयासको निमित्त कुनै चर्चा नै हुँदैन ।’ उनले अघि थप्दै भने, ‘मधेश मुद्दा मधेशको मात्र होइन सम्पूर्ण देशको मुद्दा हो । पहिचान आधारित विविधताको सम्मान सहितको नव राष्ट्रीयता, स्वशासन, समावेशिता, समानुपातिक प्रतिनिधित्व मधेशको मात्र होइन, सम्पूर्ण देशको मुद्दा हो । मधेशको नाममा राजनीति गर्ने नेताहरू राजधानीमा पदको निमित्त दरबारहरुमा हार–गुहार गर्ने र मधेशमा आन्दोलनको भाषा बाँड्ने गरेका छन् । तर यथार्थमा उनीहरुले मधेश मुद्दा बिसाएका छन् । तमलोपा लोकतन्त्र र मधेश मुद्दाको मशाल जगाइरहने छ ।’ उनले लोकतन्त्र र मधेश–थरुहटको मुद्दाप्रति प्रतिवद्ध सबैलाई एकजूट हुने आग्रह गरे ।
वृक्षारोपण कार्यक्रम तमलोपा धनुषाको उपाध्यक्ष नारायण राउतको अध्यक्षतामा जनकपुर उपमहानगरपालिका–१३ पिराडीको राजर्षि जनक माध्यमिक विध्यालयमा भएको थियो र विध्यालयको हाताको चारैतिर गुलमोहर, आंवला, नीम, पतरख, लगायत २५ जातका विरुवाहरू रोपेका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा तमलोपाका सतीश दास, बिभा ठाकुर, विद्यालयका प्रधानाध्यापक बिनोद साह, जोगी राय, हेमनाथ साह, भोलानाथ झा, रमेश अधिकारी, भगिरथ लाल इश्वर पंडित, राधिका चौधरी, सुनिता कर्ण, अंजना दत्त, श्याम मण्डल लगायतहरुको समेत उपस्थिती रहेको थियो ।
