काठमाडौँ, फागुन ८

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ ।

जसपा नेपालको आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।

जसपा नेपाललको कार्यकारिणी समितिको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न लागेको हो ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा गठीत विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जनाएका छन् ।

यसैगरी यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भन्ने पक्षमा रहेको उनले बताए ।

जसपा नेपालको बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको उनले बताए । बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएकोसमेत भएको उनको भनाई छ ।