
जनकपुर, फागुन ८
चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आफुहरुको माँग प्रति संघीय सरकार, प्रदेश सरकार तथास्थानीय तहले समेत बेवास्ता गरेकाले विभिन्न ५ बुँदे माग पूरा राख्दै फागुन ११ गते बिहीबारदेखि अनिश्चितकालिन धर्ना दिने चेतावनी दिएका छन् ।
यही फागुन ११ गते बिहीबार दिउँसो २ बजेदेखि अनिश्चितकालिन धर्ना दिने सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि चुरे तथा वन जंगल संरक्षण अभियानका संरक्षक सरोज रायले जनाएका छन् ।
अभियानीहरुले सोही दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडीसमेत प्रदर्शन समेत गर्ने छन् ।
पत्रकार सम्मेलनमा अभियानी रायले चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।
भूमिहिन तथा सुकुम्बासीको आवासको हक मौलिक हकको रुपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भिरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरुको माग रहेको उनीहरु बताउँछन् ।
उनीहरुले आफूहरको माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रुपमा धर्ना, दवाव सिर्जना गर्न एक घण्टे चक्का जाम, ग्रासरुट मुभमेन्टको रुपमा गाउँगाउँमा अभियानलगायत थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।