जनकपुर, फागुन १०

मधेश प्रदेश सरकार सञ्चालनमा कठिनाई भईरहेको भन्दै जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री सरोजकुमार यादवलाई सहयोग गर्नका लागि परामर्श समिति गठन गरेको छ ।

मुख्यमन्त्री यादवलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य तथा निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।

मुख्यमन्त्री यादवले सचिव भएर कार्य गर्ने परामर्श समितिको सदस्यहरूमा गोविन्द चौधरी, दीपक कार्की र लालकिशोर साह रहेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा भएको निर्णयको कार्यान्वयनका लागि जसपा नेपालले मातहतका समितिलाई आज परिपत्र गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् ।

उच्च स्रोतका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवलाई सहयोग गर्नका लागि जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरा अमरेन्द्र यादव र मधेश प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साह मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएदेखि नै अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत अनौपचारिकरुपमा सम्हाल्दै आएका छन् ।